चारजना भुटानी शरणार्थीलाई डिपोर्ट गर्ने अध्यागमन विभागको निर्णय
-अध्यागमन विभागले अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट पनि डिपोर्ट गर्ने निर्णय गरेको छ । विभागका निर्देशक टीकाराम ढकालका अनुसार अमेरिकाले भुटानका लागि डिपोर्ट गरेपनि अवैधानिक रुपमा नेपालमा भित्रिएपछि डिपोर्ट गर्ने निर्णय भएको बताउनुभयो ।
अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके ट्राभल डकुमेन्ट बनाउन आग्रह गरीसकेको र सो प्रक्रियाबाट नगएपनि डिपोर्ट गर्ने तयारी गरेको छ । डिपोर्ट भएकाहरुले नेपाल सरकारलाई दैनिक ८ डलरका दरले जरिवाना तिर्नुपर्ने प्रावधान छ । विभागका निर्देशक ढकालका अनुसार डिपोर्ट हुने चारैजनाले चाहेको स्थानमा बस्न दिइएको छ । कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई समेत लेखी पठाएको उहाँले बताउनुभयो ।
नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई अमेरिकाले आफ्नो नागरिक सरह राख्ने भनेर लगिसकेपछि पनि पछिल्लो समय डिपोर्ट भएका भुटानी शरणार्थी गैरकानुनी रुपमा लुकीछिपी नेपालमा बस्दै आएको सूचना प्राप्त भएको पनि विभागले जनाएको छ । त्यस्ता व्यक्तिको खोजी भइरहेको र फेला परे नियन्त्रणमा दिने विभगले जनाएको छ । गैरकानुनी रुपमा काम गरेका भुटानी शरणार्थीहरु डिपोर्ट हुने क्रम बढेकाले राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको विभागको भनाइ छ ।