राष्ट्रिय

विधेयकमाथि छेडखानी नहोस्ः अध्यक्ष दाहाल

- केएफएम डेस्क

माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदीय समितिबाट सर्वसम्मतरुपमा पारित भएका विधेयकहरु प्रतिनिधिसभामा पेस हुँदा चलखेल नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न आग्रह गर्नुभयो । 

नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष दाहालले सो धारणा व्यक्त गर्नुभएको हो । धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरु कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको उहाँको भनाई थियो । संघीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयकहरु कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष दाहालले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सहभागी अन्य सांसदहरुले पनि समितिबाट सर्वसम्मतरूपमा पारित भएका विधेयकहरुमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे ।