राष्ट्रिय

परराष्ट्रमन्त्री राणा आज इटाली जाँदै

- केएफएम डेस्क

परराष्ट्रमन्त्री आरजु राणा देउवा दुई साता लामो औपचारिक भ्रमणका लागि आज इटाली जाँदैहुनुहुन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । परराष्ट्रमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको यात्राका लागि मन्त्रिपरिषद्को बैठकले गत सोमबार स्वीकृत प्रदान गरेको हो । 

रोममा भोलीबाट सुरु खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणाले भाग लिनुहुनेछ । त्यसक्रममा मन्त्री राणाले सम्मेलनको मुख्य सेसनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीको टोलीमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । यस्तै सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटली र जर्मनीमा लगानी बोर्डले लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ असार २९ मा स्वदेश फर्किनुहुने कार्यसूची छ ।