एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
-नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट, पार्टीको सांगठानिक गतिविधि, संसदमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुने जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिरक्षामा पार्टीका तर्फबाट भएका अनुसन्धानबारे छलफल गरिने कार्यसूची छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल बुधबार राति रिहा हुनुभएको छ । यस्तै केन्द्रीय कमिटीले यसअघि गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।