राष्ट्रिय

शिक्षा विधेयकमा राखिएका प्रावधानमा समितिको सहमति

- केएफएम डेस्ककाठमाडौं

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा विधेयकमा भएका विवादीत विषयमा सहमति जुटेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन लगायत विषयमा सहमति जुटाएको हो । समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरुप छुट दिने प्रस्ताव पारित गरेको छ । विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले आज सो प्रस्ताव पारित गरेको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफा ४ पारित भएको घोषणा गर्नुभयो । समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रस्ताव पेस गर्नुभएको थियो । समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, ईसीडी कार्यक्रम दुवै प्रकारका विद्यालयमा २ वर्षको रहनेमा सांसदहरु सहमत भएका छन् । अब कक्षा १ भन्दाअघिको प्रारम्भिक बालविकास कक्षा (ईसीडी) २ वर्षको हुने भएको छ । विधेयकमा रहेका प्रवधानमा सहमति भएसँगै भोलि बस्ने समितिको बैठकबाट पारित गरि असार १५ गते बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी भएको सांसदहरुले बताएका छन् ।