राष्ट्रिय

विनयी खोलामा आएको बाढीले डाइभर्सन बगायो

- नवीन पौडेलनवलपरासी पूर्व

नवलपरासी पूर्वको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ । ठूला सवारी साधन आवागमनका लागि निर्माण गरिएको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ । 

साना सवारीले प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएपछि यात्रुले सास्ती भोग्नु परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज बिहान परेको वर्षापछि बाढी आउँदा सडक अवरुद्ध भएको हो ।

वैकल्पिक मार्गको सर्दीमा खरङ्गे खोलामा पानीको सतह बढेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । बुटवल–नारायणगढ सडक विस्तार क्रममा दाउन्नेमा काम भइरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुँदै आएको छ ।

विनयी खोलाको पुल भासिएर डाइभर्सन बनाए पनि पटकपटक डाइभर्सन बगाउँदा सो सडकखण्डको यात्रा कष्टकर बनेको छ ।