बाढी र कटानबाट कर्णाली पुल जोगाउन ठूला ढुंगा प्रयोग
- बर्दियाबर्दियाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्मित पुल जोगाउन तटबन्धको काम भईरहेको छ । नदी कटानले पुलको पूर्वतर्फ तीब्र कटान हुने गरेकाले त्यसको रोकथाम गर्न कैलाली हुँदै ल्याएको बोल्डर (ठूला ढुंगा) बाट नदी किनारमा तटबन्ध निर्माणको काम भईरहेको हो ।
पाँच वर्षअघि नदी कटान रोक्न निर्माण गरिएको गेभिन पानीको बहाव बढ्दै गएपछि खस्किएर पुल जोखिममा परेको थियो । पुलको पूर्वपट्टी कटान रोक्न बनाइएको तटबन्धको गेभिन भासिएको ठाउँमा तटबन्ध निर्माण गरिएको हो । तटबन्धसँगै गेभिन भासिए पुलसँग जोडिएको हुलाकी सडक कटान भई किनारबाट नदी बग्न सक्ने भन्दै गत वर्ष ढुंगा खसालेर रोकथाम गरिएको थियो ।
राजापुर नगरपालिकास्थित सो ठाउँ आसपासमा नदीको तीब्र बहाव छ । ठूलो बाढी आए संर्घषनगर, मुक्तकमैया बस्ती, छेदिया लगायत दर्जन बढी गाउँ उच्च जोखिममा पर्नेछन् । जलस्तर बढ्दै गएपछि कर्णाली नदी तटीय क्षेत्रमा कटानको जोखिम छ । पूर्वपट्टी पानीको बहाव बढी भएकोले ठूलो बाढी आउनासाथ पुलको अन्तिम स्पेन छेउको हुलाकी सडक कटान हुने भएकोले तटबन्धका लागि बोल्डर खसालेर तटबन्ध बनाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ ।
विगत दुई वर्षदेखि कर्णालीमा ठूलो बाढी आएको छैन । यसवर्ष भीषण वर्षासँगै बाढी आउने आकलन गरिएको छ । चार वर्षअघि सो पुलमा भ्वाङ्ग परेको थियो । भ्वाङ्ग परेसँगै दक्षिण–पूर्व पुल जोखिममा परेको थियो । भ्वाङ्ग परेको पुल टालटुल पारेर बनाएपनि सुरक्षित नभएको स्थानीयले बताए । सात वर्षअघि ५ सय ३१ मिटर लामो सो पुल ४६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो ।
सो पुलमा १४ वटा पिलर छ । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका प्रमुख लिला बहादुर भण्डारीले पुल र आसपासका कटान क्षेत्रमा १ करोड ८० लाखमा तटबन्धको काम भएको बताउनुभयो । ‘पानीको बहाव बढी भएकोले ठुला ढुंगा खसालेर नदी नियन्त्रणको काम भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘तटबन्धले पुल र आसपासका क्षेत्र सुरक्षित हुने छ ।’ बर्दियामा ठूला ढुंगा नपाएपछि कैलालीबाट ल्याइएको हो ।