राष्ट्रिय

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा नलिने निर्णय

- केएफएम डेस्क

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गर्नु भएको छ । पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो । गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नु भएको थियो । 

जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा उहाँले राजनीतिमा थकाइ भन्ने शब्द नहुने, देश र जनताको हित आफ्नो ध्येय र लक्ष्य रहेको बताउनु भएको थियो । सक्रिय राजनीतिमा फर्किएको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उहाँले सेवा सुविधा त्याग्ने निर्णय गर्नु भएको विश्लेषण भएका छन् ।