त्रिविमा जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
-
त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु÷नगराउनु, ताला लगाएको भए खोल्नु÷खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताउनुभयो ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो आदेश दिएको हो । अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिष्ट्रार कार्यालयलाई विपक्षी बनाइएको थियो ।