डोल्पामा हुँदै नभएको विद्यालयमा बजेट, अखित्यारद्वारा ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले काल्पनीक विद्यालयको नाम बनाई बजेट विनियोजन गरेको भन्दै जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार सहित ४ जना विरद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कुनैपनि समयमा सञ्चालनमा नरहेको दुर्गा प्रा.वि. नामक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरि हिनामिना गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा विरुद्ध सो मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएकाहरुले मिलेमतोमा आर्थिक वर्ष २०६७÷६८ मा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्रदान भएको रकम विद्यालय भवन निर्माणमा खर्च गरिएको नक्कली विवरण तयार पारेको पाइएको अख्तियारले जनाएको छ । उनीहरुसँग अख्तियारले हिनामिना भएको७ लाख ६० हजारको बिगो माग दाबी गरेको छ ।