राष्ट्रिय

ठोरी गाउँपालिका साक्षर घोषणा

- शंकर आचार्यपर्सा

पर्साको ठोरी गाउँपालिकाल साक्षर घोषणा भएको छ । ठोरी–३ सिकारीबासमा आयोजित एक समारोहमा ठोरीलाई पूर्ण साक्षर घोषणा गरिएको हो । ठोरी पर्सा जिल्लाकै पहिलो र मधेश प्रदेशको सातौं साक्षर पालिका बन्न सफल भएको हो । 

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले औपचारिक रुपमा पालिकालाई साक्षर घोषणा गर्नु भएको थियो । ठोरीले जिल्लामै इतिहास निर्माण गर्न सफल भएकामा आफूहरु गौरवान्वित भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनारले शिक्षा क्षेत्रमा ठोरीले पाएको सफलता उदाहरणीय रहेको बताउनुभयो । ठोरी गाउँपालिका शिक्षा महाशाखा प्रमुख भूपालकुमार जोशीले पालिकाको ३ हजार ८ सय ९ घुरधुरीमा सर्वेक्षण गर्दा १५ हजार ९ सय ७८ जनामध्ये ९८ दशमलव ८६ प्रतिशत जनसंख्या साक्षर पाइएको जानकारी दिनुभयो । 

साक्षर घोषणा हुन निर्धारण गरिएको १२ सूचकांकमध्ये ८ सूचकांक पूरा भएकाले ठोरीलाई साक्षर घोषणा गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाका लागि साक्षर बनाउन आसमान नेपाल नामक संस्थाले ४ वर्षदेखि पालिकामा विशेष अभियान नै सञ्चालन गरेको थियो । संस्थाका प्रतिनिधि धर्मेन्द्र चौरसिया समेतलाई सो अवसरमा सम्मानित गरिएको थियो ।