राष्ट्रिय

ताप्लेजुङमा देखियो लम्पी स्किन संक्रमण

- आनन्द गौतमताप्लेजुङ

ताप्लेजुङको ६ वटा स्थानीय तहका पशु चौपायमा लम्पी स्किनको संक्रमण देखिएको छ । मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको हो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोसन दाहालका अनुसार छ वटा स्थानीय तहका ३४ पशु चौपायमा संक्रमण देखिएको हो । परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको नमूनामा मेरिदेनमा १०, आठराई त्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवा २, फक्ताङलुङ गाउँपालिकामा २ वटामा पशुमा संक्रमण पुष्टि भएको हो । 

फुङलिङ नगरपालिकाका ७ वटा पशुचौपायमा लम्पी स्किनको संक्रमण देखिएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख दाहालले जानकारी दिनुभयो । संक्रमण देखिन थालेपछि चालू आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायलाई खोप लगाइ सकिएको छ । स्थानीय तहसँगको समन्वयमा खोप लगाइएको विज्ञ केन्द्रले जनाएको छ ।

एउटा भाइलमा २५ डोज खोप हुने र एकदेखि डेढ घण्टाको समयमा लगाइ सक्नुपर्ने भएकाले त्यही संख्यामा पशुचौपाय तयारी बनाएर खोप लगाउने गरिएको कार्यालयले जनाएको छ । 

भ्याक्सिन पर्याप्त मात्रामा नभएकाले गोठलाई सफा सुग्घर राख्ने, किरा भुसुनाले नटोकोस भन्नका लागि धुप बालिदिने, गोठ सफा बनाएर राख्ने जस्ता कार्यगरे संक्रमणबाट पशुचौपाय जोगाउन सकिने सुझाव पशु कार्यालयको छ । गतवर्ष सो संक्रमणका कारण जिल्लाका हिमाली क्षेत्रमा ठूलो संख्यामा चौरी र याक मरेका थिए । 

यसैवर्ष ठूलो गोठमा खोप लगाइएकाले बढी क्षति हुने अवस्था नभएको दाहालको दाबी छ । यसवर्ष पनि खोप लगाइएका पशु चौपायमा भने संक्रमण नदेखिएको उहाँले बताउनुभयो । ‘जति देखिएको छ, खोप नलगाएका पशुचौपायमा देखिएको छ,’ दाहालले भन्नुभयो, ‘त्यसैले खोप नलगाएका पशुचौपायको निगरानी वढीनै गर्नुपर्ने जरुरी भएको छ ।’