मधेस प्रदेशसभा अवरुद्ध
-बजेटको बिषयलाई लिएर प्रतिपक्षी दलहरूले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) सहित ६ दलका सांसदहरूले बजेट संशोधनको माग राख्दै बैठक अवरुद्ध गरेको हाम्रा सहकर्मीले जनाएका छन् । जसपाका प्रमुख सचेतक रामआशिष यादवका अनुसार बजेट पुनः लेख्नुपर्ने माग राखिएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिस पटेलले बजेटमा बिचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने चेतावनी दिनुभयो । जसपा, माओवादी केन्द्र, नेकपा (एस), नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक भोलि अपरान्हसम्मका लागि स्थगन गर्नुभएको छ ।