राष्ट्रिय

बालेनका सल्लाहकार गिरीले रुपन्देही–३ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवारहरुको दौडधुप सुरु भएको छ । रुपन्देहीको क्षेत्र नम्बर–३ मा सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका खाद्य स्वच्छता एवम अन्तर्राष्ट्रिय सल्लाहकार समेत रहेका गिरीले उम्मेदवारी दिने चर्चा सुरु भएको हो । 

विद्यार्थी जीवनमा अखिलको राजनीतिबाट उदाएका गिरीले राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हांसिल गरेपछि देशैभर चर्चित भएका थिए । त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान चलाए । 

संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताकार रुपमा प्रस्तुत हुन थाले । 

गिरीको जन्म रुपन्देहीको क्षेत्र नम्बर ३ मै भएको हो । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत रहेका छन् । उनले एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीको सहसचिव रही काम गरेका थिए ।