बाढीले मितेरी पुल बगाएपछि व्यापारिक मार्ग बन्द
-भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशलाई जोड्ने नाकामा सडक सम्पर्क पूर्ण रुपमा टुटेको छ । पुल बगाएपछि दुई देशबीचको व्यापारिक मार्ग बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । बाढीले भन्सार यार्डमा रहेका केही मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यस्तै, सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी पनि बाढीले बगाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । यसैबीच, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–१ र ९ बीचमा बाढीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बिहान दाउरा लिन गएका उनीहरु अचानक बाढी आएपछि बीचमै फसेका थिए । मैती तामाङ र पाल्देन तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले जनाएको छ ।