राष्ट्रिय

दर्जनौं मालबाहक कन्टेनर न्यालममा अलपत्र

- केएफएम डेस्क

तिब्बतको न्यालम क्षेत्रमा बाढीले चीनको सिगात्से–न्यालम–खासा सडकखण्ड क्षतविक्षत् भएको छ । सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोकस्थित उत्तरी नाका तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर न्यालम क्षेत्रमा अलपत्र परेका भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले बताउनुभयो । 

हाल न्यालम काउन्टी सरकारले आपतकालीन पूर्वाधार निर्माण गरेर दुई दिनभित्र सडक सञ्चालन गर्ने तयारी थालेर काम अघि बढाएको छ । भोटेकोशी बाढीले रसुवागढी नाकामा क्षति पु¥याएपछि रसुवाको टिमुरे भन्सारतर्फ जान लागेका ५० भन्दा बढी कन्टेनर अब खासा हुँदै तातोपानीतर्फ डाइभर्ट गरिएको छ । 

अहिले चीनका सेना र सुरक्षाकर्मीहरू सडक मर्मतमा खटिएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुँडालले चीनको न्यालम क्षेत्रको विपद् अवस्थाबारे यथार्थ विवरण लिइरहेको जानकारी दिनुभयो ।