राष्ट्रिय

बालगृहमा बस्दै आएकी किशोरीमाथि बलात्कारमा आरोपमा अधिकृत पक्राउ

- सुवास विडारीमकवानपुर

किशोरीमाथि बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित बालगृहका अधिकृत पक्राउ परेका छन् । विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालन गरिएको बालगृहमा बस्दै आएकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा सोही बालगृहका अधिकृत ४८ वर्षीय मधुसुदन राउत पक्राउ परेका हुन् । 

आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । जाहेरी दर्ता गरेपनि पनि राउत पक्राउ परेका थिएनन् । 

प्रहरीले राउतलाई काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नै पक्राउ गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । राउतलाई शनिबार मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ ।

१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको सो बालगृहमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । 

मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको बालगृहमा थिइन् । बालगृहमा १५ जना बालिका छन् । तर, गत जेठ १ देखि ८ गतेसम्मको अवधिमा बालगृहका अधिकृत राउतले आफूलाई पटक–पटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।