राष्ट्रिय

सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोध्नुभएको छ ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्ने माग उठिरहेको बेला प्रधानमन्त्रीले स्पष्टीकरण सोधेको बालुवाटार स्रोतले जनाएकोछ । राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा जोड्नुभएको छ ।

अडियो सार्वजनिक भएसँगै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओली दबाबमा पर्नुभएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । गुप्ताले राजीनामा गर्न अटेर गरे प्रधानमन्त्रीले बर्खास्त गर्नेसम्मको सोच बनाएको बालुवाटार स्रोतको दाबी छ ।

अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।