राष्ट्रिय

राप्रपा अख्तियार जाँदै

- केएफएम डेस्क

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचारहरुको छानबीन र त्यसमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने भएको छ । पछिल्लो समय मुलुकमा भ्रष्टाचार बढेको र त्यसमा संलग्न राजनीतिक दलका नेतृत्वहरुलाई समेत कारबाहीको मागसहितको ज्ञापनपत्र आयोगमा बुझाउने तयारी गरेको हो । 

राप्रपाले आयोगको केन्द्रीय कार्यालय टंगालमा दिउँसो १ बजे पुगेर भ्रष्टाचारीका सबै फाइलहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताकासाथ अघि बढाउन भन्दै ज्ञापनपत्र बुझाउन लागेको हो । यस्तै २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धिकरण कार्यालयमा उजुरी दिने बताइएको छ । राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।