सुदूरपश्चिममा सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने
- काठमाडौंसुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश भित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको घटनालाई गम्भीर रुपमा लिँदै चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले छाउगोठ प्रथाको उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवं छुवाछुतयुक्त व्यवहारको नियमनलाई प्रभावकारी बनाउने समेत बताएको छ । छाउपडी प्रथाजन्य कूरीति उन्मूलन नीति तथा त्यस अनुसारको कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न सबै तहबाट अनुगमन गरी सक्रियता बढाउने निर्णय गरिएको छ ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक संघसंस्थाको सहभागीतामा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको हाम्रा सहकर्मीले जनाएका छन् ।