प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी शुरु
- काठमाडौं
परराष्ट्र मन्त्रालयले भदौ अन्तिम साता हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको भ्रमणको तयारी शुरु गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय भएको हो । यद्यपी दुवै पक्षले औपचारिक रुपमा भ्रमणको मिति सार्वजनिक गरेका छैनन् । भ्रमणको तयारी र एजेन्डाबारे सघन छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भ्रमणको एजेण्डा भारतीय पक्षसँग छलफल गरेर टुंगो लगाउने तयारी भएको छ । प्रधानमन्त्री ओली र मोदीबीच न्यूयोर्क र बैँककमा साइडलाइन भेटवार्ता भएपनि दुवै प्रधानमन्त्रीले एक अर्काको देशको भ्रमण गर्नुभएको छैन ।