असार २४ देखि अवरुद्ध स्याफ्रुबेँसि–रसुवागढी सडक सञ्चालन
- रसुवाबाढिका कारण अवरुद्ध रहेको स्याफ्रुबेँसि–रसुवागढी सडकखण्ड आजबाट सञ्चालनमा आएको छ ।
गत असार २४ गते बिहान करिब ३ बजे ल्हेन्दे खोलामा आएको बाढिले विभिन्न ठाउँमा कटान गर्दा स्याफ्रुबेँसी–रसुवागढी सडक बन्द भएको थियो । बाढिले कटान गरेको सडक दुबैतर्फबाट निर्माण गरि अहिले तत्कालकोलागि अस्थायी रुपमा सञ्चालनमा आएको हो ।
आज लिङलिङ क्षेत्रमा बाढिले कटान् गरेको सडक निमार्ण गरेसंगै अवरुद्ध सडक सञ्चालनमा आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अयोजनाले बताएको छ । १२ दिन देखिको निरन्तर प्रयासपछि आजबाट सडक सञ्चालनमा आएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले जानकारी दिनुभयो ।
लिङलिङ र फयाङलुङ खोलाबीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरेसंगै अवरुद्ध सडक सञ्चालमा आएको उहाँको भनाइ छ । अहिलेलाइ बाढिले कटान गरेको ठाउँमा नयाँ सडक खोलिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
नेपाल र चीनको सिमानामा रहेको मितेरी पुलपनि बाढिले बगाउँदा चीन तर्फको यातायात सम्पर्क भने विच्छेद भएको छ । क्षतिग्रस्त सो पुल निमार्णका लागि चिनियाँ पक्षलाई नेपालले आग्रह गरिसकेको छ ।