राष्ट्रिय

माओवादीको पार्टी कार्यालयमै कुटाकुट

- भवानी भट्टकञ्चनपुर

नेकपा माओवादी केन्द्रको महेन्द्रनगरस्थित पार्टी कार्यालयमा दुई जनाबीच कुटाकुट भएको छ । भीमदत्त नगर कमिटी सदस्य भुवन विष्ट र अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच आइतबार साँंझ कुटाकुट भएको हो । 

विष्टको कुटाइबाट भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्ट पनि सामान्य घाइते भएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताउनुभयो । 

उनी प्रहरी निगरानीमै छन् । उनका अनुसार पार्टी कार्यालयमा छलफलकै क्रममा दुई जनाबीच कुटाकुट भएको हो । नेकपा माओवादी केन्द्रले पनि विष्टलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

अखिल क्रान्तिकारीको छलफल भइरहेका बेला रिसिबी पोखेर विष्टले भट्टमाथि आक्रमण गरेको माओवादी केन्द्र कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।