थारु समुदायले ‘गुरही’ उल्लासपूर्वक मनाउँदै
- काठमाडौंथारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलाली लगायत थारु समुदायमा यो पर्वको उत्सव सुरु भएको छ ।
थारु समुदायले मनाउने गुरही एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुर लगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन मनाइन्छ ।
नागपञ्चमीमा विशेष गरी नेपालीले नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो ।
गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधि महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँको भनाई छ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् ।