राष्ट्रिय

‘गुरही पर्व’को अवसरमा कैलालीका स्थानीय तहले दियो बिदा

- अर्जुन शाहधनगढी

थारु समुदायको महत्पवूर्ण चाड गुरही पर्वको अवसरमा कैलालीका स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी, टीकापुर, गौरीगंगा, भजनी, घोडाघोडी नगरपालिकाले गुरही पर्वको अवसरमा मंगलबार बिदा दिएका हुन् । 

यस्तै कैलारी र जानकी गाउँपालिकाले पनि बिदा दिएका छन् । गुरही पर्व थारु समुदायको मुख्य पर्व हो । गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलन अनुसार नागपञ्चमीका दिन थारु समुदायले साँझपख गुरही मनाउने गर्छन् । 

यस पर्वका अवसरमा विभिन्न कार्यक्रमसहित पर्व मनाउने गरिन्छ । गुरही एक प्रकारको गाइने कीराको प्रतीक रहेको र यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने थारु अगुवाहरु बताउँछन् ।

गाइने कीराको प्रतिकका रुपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको मानिन्छ ।