पहिरोका कारण बेंसीसहर–चामे सडक अवरुद्ध
- लमजुङलमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । प्रहरी र स्थानीयका अनुसार सोमबार राती माथिबाट ठूला–ठूला ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हँुँदा सवारी साधनसहित मानिसको आवतजावत रोकिएको मर्स्याङ्दी गाउँपालिका–४, जगत निवासी खुसीराम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्ना साथ दुवैतर्फ सवारी साधन र मानिसहरु आवतजावत हुन सकेका छैनन् ।
पहिरोले ३३ केभीको विद्युतको पोल, ११ केभीको पोल र इन्टरनेटका पोलहरु समेत ढलेको र तारहरु चुँडाएको उहाँले जानकारी दिनुभयो । पोल र तारमा क्षति पुग्दा उक्त क्षेत्र र माथिल्लो क्षेत्रमा विद्युत र इन्टरनेट समेत अवरुद्ध रहेको उहाँले बताउनुभयो ।
अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराका अनुसार पहिरो पन्छाउने कार्य जारी छ । पहिरो हटाएर सडक खुलाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न र आवश्यक जानकारी लिएर मात्र सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।