मधेश प्रदेशमा चाँडो भन्दा चाँडो डिप बोरिङ जडान गरीसक्न निर्देशन
-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा एक महिनाभित्र डिप बोरिङ जडान गरीसक्न निर्देशन दिनु भएको छ । जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफलका क्रममा उहाँले धान रोप्ने समय घर्किन लागेको भन्दै छिटो बोरिङ जडान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिनभित्र गरिसक्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिनुभएको छ । विद्युत प्राधिकरण व्यापारिक संस्था भएकाले निःशुल्क विद्युत बाँड्न नसकिने भन्दै सिँचाइ र खानेपानीका लागि सस्तोमा विद्युत उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।