राष्ट्रिय

अपर तमोरको ब्यारेकमा तोडफोड, अभियुक्त खोज्दै प्रहरी

- आनन्द गौतम ताप्लेजुङ

ताप्लेजुङस्थित अपर तमोर जलविद्युत आयोजनाको चीनियाँ कामदार राख्न बनाइएको ब्यारेकमा तोडफोड भएको छ ।

 तोडफोडमा संलग्न भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकासूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । तमोर इनर्जी आयोजनाले अपर तमोर जलविद्युत आयोजना विरुद्ध संघर्ष गर्दै आएको समुहले तोडफोड गरेको आरोप लगाएको छ । यता, अपर तमोर संघर्ष समितिका संयोजक वीरबल लिङ्खिमले भने आफूहरुले तोडफोड नगरेको र शान्तीपूर्ण रुपमा आफ्ना मागहरु उठाइरहेको दावी गर्नुभयो ।

 सो समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउने लगायत विरोधका कार्यक्रम गर्दै आएको छ । लिम्बु समुदायको मुन्धुमी स्थलमा जलविद्युत आयोजना नबनाउन संघर्ष समिति नै बनाएर स्थानीय विरोध गर्दै आएका छन् ।