राष्ट्रिय

कर्णाली राजमार्गमा खसेको पहिरो हटाउन सुरु

- तुलाराम पाण्डेकालीकोट

कर्णाली राजमार्गमा खसेको लेदो सहितको पहिरो हटाउन सुरु गरिएको छ । सोमबार बेलुकी ७ः३० बजेदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको गगने खोलामा खसेको पहिरो पन्छाउन दुई वटा मेसिन (जेसीबी) लगाइएको छ । 

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन परिचालन गरेर पहिरो हटाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो । ‘हिजो दिनभरि पानी पर्यो,’ उहाँले भन्नुभयो, ‘सधै अवरुद्ध हुने गगने खोलामा बेलुकी लेदो सहितको पहिरो गएर सडक अवरुद्ध भयो ।’ 

डीएसपी रावतले कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न गाडी रोकिएको बताउनुभयो । ‘पानी परेन भने १÷२ घण्टामा सडक खुल्छ’, उहाँले भन्नुभयो, ‘पानी पर्यो भने गगने खोलामा लेदो सहितको पहिरो बगेको बग्याई हुन्छ ।’ 

मंगलबार बिहानबाट दुई वटा मेसिनले काम गरिरहेको प्रहरीले जनाएको छ । पहिरोले गएराति अवरुद्ध भएको कालीकोटको खाँडाचक्र ५ बिहानी खोला र वडा नं ४ मा पर्ने छेकाको पहिरो राति नैं हटाइएको प्रहरीले जनाएको छ ।