कोशीमा मैथिली र लिम्बु भाषा सरकारी कामकाजमा प्रयोग हुने विधेयक पेश
- काठमाडौंकोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धीे विधेयक प्रदेश सभामा अघि बढाएको छ ।
सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशसभाको आजको बैठकमा मैथिली र लिम्बु भाषालाई समेत सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्थासहितको विधेयक पेश गर्नुभएको हो । कोशी प्रदेशभित्र बोलिने मध्ये नेपालीपछि मैथिली र लिम्बु भाषालाई कामकाजी भाषा बनाउने गरी विधेयक ल्याइएको मन्त्री राईले जानकारी दिनुभयो ।
विपक्षी दलले प्रदेशसभामा ल्याएको गैरसरकारी विधेयक अस्वीकृत भएपछि सरकारले कोसी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ल्याएको हो । मन्त्री राईले सरकारी कामकाजमा प्रयोग नहुने भाषालाई समेत संरक्षण गर्ने दायित्व प्रदेश सरकारको भएको बताउनुभयो ।
कोशी प्रदेश सरकारले विधेयक पारित गरेर आगामी कात्तिकको अन्तिम सातादेखि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।