राष्ट्रिय

हेटौंडा उपमहानगरमा १३ प्रतिशत गर्भवती २० वर्ष मुनिका

- प्रताप विष्टपमकवानपुर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र करिब १३ प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ ।

 सो संख्या स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि पुग्ने मध्येका हुन् । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी भोला चौलागाईका अनुसार नगर क्षेत्रका कूल गर्भवतीमध्ये २० वर्ष मुनिका करिब १३ प्रतिशत गर्भवती हुने गरेका छन् । गर्भ परीक्षण गराउने ३ हजार ३ सय २० गर्भवतीमध्ये ४ सय २ जना २० वर्ष भन्दा कम उमेरका रहेको पाइएको हो । 

कम उमेरमा गर्भवती हुँदा गर्भवती बालिका र गर्भमा रहेका शिशु दुवैलाई जोखिम रहन्छ । नगरक्षेत्रमा देखिएको समस्यालाई लिएर हेटौंडा उपमहानगरपालिकाले समाधानका योजना पनि बनाएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाका अनुसार आमा समूह, बालक्लब परिचालन गरेर बालविवाह रोक्ने प्रयास गरिने भएको छ ।