३० बर्षको अवधिमा नेपालमा विस्फोटको घटनामा ६ सय ५० बढीको मृत्यु
काठमाडौंमाइन तथा विस्फोटनका कारण ३० बर्षको अवधिमा नेपालमा ६ सय ५० जना बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी भएको मानवीय क्षतिबारे जानकारी दिनुभएको हो । त्यस्तै, ती घटनामा झन्डै २ हजार ९ सय जना घाइते भएको गृहमन्त्री लेखकले बताउनुभयो ।
राष्ट्रिय सभामा सांसद मदनकुमारी शाहले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले सो विवरण सार्वजनिक गर्नुभएको हो । द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको गृहमन्त्री लेखकको भनाइ थियो ।
परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड अनुसार सरकारको निर्णय बमोजिम हुने गृहमन्त्रीले सदनलाई जानकारी गराउनुभयो ।