ललितपुर महानगरपालिकामा विपद्को पूर्व सूचना प्रणाली जडान
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन उपत्यकामा नै पहिलो पटक पूर्व सूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) जडान गरेको छ । महानगरले हालपालिका भित्रका दुई ठाउँमा सो प्रणाली जडान गरेको हो । वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै सो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको बताउनुभयो । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ ।