राज्य व्यवस्था समिति सभापतिको निर्वाचन बुधबार
काठमाडौंप्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन पर्सि बुधबार हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली अनुसार सभापति चयनका लागि मिति तोक्नुभएको हो ।
निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा गरिएको हेरफेरमा नैतिक जिम्मेवार भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको थियो ।
यसैबीच, राज्य व्यवस्था समितिको सभापति चयनका लागि नेपाली कंग्रेस आन्तरिक छलफलमा जुटेको छ । कंग्रेसले दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने सम्भावना रहेको बताइएको छ ।