वीरगन्जबाट पठाइएका थप ८ नमुनामा हैजा पुष्टि, भोलिबाट तीन दिन विद्यालय बन्द हुने
- काठमाडौंराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठ वटामा हैजाको संक्रमण पुष्टि गरेको छ ।
१० वटा नमुनामध्ये आठ वटा नमुनामा हैजाको संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले जानकारी दिनुभयो ।
वीरगन्जबाट नमुना स्वरूप हैजा सङ्क्रमितको दिसा पठाइएको थियो । प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर परिक्षण गर्दा १० नमुनामध्ये आठ नमुनामा हैजाको संक्रमण भेटिएको उहाँको भनाइ छ । बाँकी दुई नमुनामा गरिएको परीक्षणको नतिजा भोलि आउने भट्टले बताउनुभयो ।
वीरगन्जबाट हालसम्म आरडीटी गरेर हैजा भएको पुष्टि गरिएकोमा थप पुष्टिका लागि काठमाडौंमा नमुना परीक्षण गरिएको हो ।
यसैबीच, हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गरिने भएको छ । महानगरपालिकाका अनुसार भोलिदेखि शुक्रबारसम्म सबै विद्यालय बन्द गरिने भएको हो । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ ।