उत्तराखण्डमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालमा सर्तकता
- काठमाडौंभारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ ।
सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताउनुभयो । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।