झुम्का कारागारमा थप एक कैदीको मृत्यु
- सुनसरीसुनसरीको झुम्का कारागारमा थप एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरीरहेका सप्तरी राजविराज ८ बस्ने बर्ष ४६ को जलेश्वर यादव रहेका छन ।
केही दिनयता कैदीबन्दीहरुमा उच्च ज्वरो, स्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको छ ।
हिजो दिउँसो बहोस भएपछी उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनको उपचारको क्रममा सांझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत सोमबार पनि दुई कैदीबन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनसरी गढी गाउपालिका ६ बस्ने बर्ष ४८ को रामदेव उराँव र धरान निवासी बर्ष २४ को सागर राई रहेका थिए ।
कारागारमा चारदिनको अवधीमा तीन जनाको मृत्यु भएपछी जिल्ला सुरक्षा समिती सुनसरीको टोलीले अनुगमन गरी हिजो रातीदेखि नै स्वास्थ्य शिबिर सञ्चालन सुरु गरेको छ ।
कारागारको दुबै ब्लकका कैदीहरुको स्वास्थ्य परिक्षण सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो ।
मध्यरातसम्म १ सय ६० जनाभन्दा बढीको परिक्षण गरिएको उनीहरुको रिपोर्ट आएपछी बिरामीको कारण खुल्ने उहाँले बताउनुभयो ।
झुम्का कारागारको दुबै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन् ।