राष्ट्रिय

दर्ता नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय

- केएफएम डेस्ककाठमाडौं

सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । सञ्चार मन्त्रालयमा बसेको बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि  निर्णय लिइएको हो । बैठकमा सहभागी एक अधिकारीका अनुसार मन्त्रालयमा सूचीकृत भएका बाहेकका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ । ती सञ्जाल सञ्जालक कम्पनीलाई मन्त्रालयले पत्र पनि लेख्दैछ । 

आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको एक अधिकारी बताउँछन् । सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको थियो ।