राष्ट्रिय

चाडपर्वका लागि लामो दुरीका बसको अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं

दशैं, तिहार लगायतका चाडपर्वका लागि काठमाडौं बाहिर जाने र भित्रिने लामो दुरीका बसको अग्रिम टिकट बुकिङ नखुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागको मीनभवनस्थित कार्यालयमा आज बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो ।

 यो पटक दशैँलाई लक्षित गरी अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पु¥याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको जानकारी दिनुभयो । 

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताउनुभयो ।