जेनजी प्रदर्शनका क्रममा लुटिएको नगद र सुन चादी फिर्ता
- नेपालगंन्जजेनजी प्रदर्शनका क्रममा नेपालगञ्को कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटिएको दुई लाख ५२ हजार रुपैयाँ, ४ सय २१ ग्राम सुन तथा ९ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि र समाजसेवीहरुको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको हो ।
राजस्वसम्बन्धी अनुसन्धानका लागि बरामद गरिएका नोट र सुनचाँदी भदौ २४ गते आन्दोलनका बीच केही व्यक्तिले लुटेर लगेका थिए ।
यसबीच अनुसन्धान कार्यालय र प्रहरीले सरकारी कार्यालयबाट लगिएका सामग्रीहरु फिर्ता गर्न सूचना जारी गरेको थियो ।
सूचनापछि केही व्यक्तिले त्यसरी लगिएको केही रकम र सुनचाँदी फिर्ता गरेका छन् ।
तर, राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी खगकप्रसाद उपाध्यायले कार्यालयबाट लगिएका सबै सुनचाँदी र रकम प्राप्त नभएकाले कार्यालयले अहिले बुझिनसकेको बताउनुभयो ।
आन्दोलनका क्रममा ४० बढी सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय र ६ वटा वडा कार्यालयका साथै तीन प्रमुख दलका नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय जलाइएका थिए ।