राष्ट्रिय

दलहरुले संविधान दिवसका अवसरमा औपचारिक कार्यक्रम गर्दै

- केएफएम डेस्ककाठमाडौं

विभिन्न राजनीतिक दलहरुले पनि संविधान दिवसका अवसरमा आज औपचारिक कार्यक्रमको आयोजना गरेका छन् ।

जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएकै कार्यालयमा संविधान दिवस मनाउन लागेका हुन् । एमाले र माओवादीले आगजानीबाट ध्वस्त भएका पार्टी केन्द्रीय कार्यालयमा भेला हुन नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् ।

गत भदौ २४ गते प्रदर्शनकारीहरूले ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासल र पेरिसडाँडामा रहेको माओवादी केन्द्रीय कार्यालयमा क्षति पुर्याएका छन् ।

नेपाली कांग्रेसले सानेपामा संविधान दिवसका अवसरमा आज सानेपामा कुनै कार्यक्रम राखेको छैन । कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक भने अहिले केहीबेरमा सानेपामा बस्ने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७७ वटै जिल्ला कमिटी र विभिन्न भ्रातृसंघ संगठनले भने संविधान दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

पेरिसडाडामा आयोजित माओवादीको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने बताइएको छ ।

यता एमालेको कार्यक्रममा भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बुझिएको छ ।

दिवसको कार्यक्रमलाई अध्यक्षले सम्बोधन गर्ने अहिलेसम्म निश्चित नभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

ओली हिजोमात्रै सेनाको सुरक्षाबाट भक्तपुरको गुण्डुमा डेरा सर्नु भएको छ ।

एमालेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।