राष्ट्रिय

दसैंलगत्तै सडक संघर्षमा उत्रने चेतावनी

- केएफएम डेस्ककाठमाडौं

उखु किसानले सरकारले अनुदानबापतको रकम दसैं अगाडि नै पाउनु पर्ने माग गरेका छन् ।

किसान आन्दोलनको क्रममा दसैं अगाडि नै अनुदान रकम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको सरकारले अहिलेसम्म अनुदान रकम वितरण नगरेको भन्दै किसान चिन्तित बनेका छन् ।

उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता एवम् प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै दसैं अगाडि नै सम्झौताअनुसार अनुदान रकम प्राप्त नभएमा दसैंलगत्तै सडक संघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

यसअघि भदौ ८ देखि १३ गते सम्म काठमाडौँ केन्द्रित आन्दोलन र त्यसपछि सडक संघर्षमा उत्रिएका किसानलाई सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो ।

उद्योगीले ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो ।

किसानले यो वर्ष उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेको छ ।