दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै
- काठमाडौंआज बडा दशैं नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
आज खासगरी गीत संगीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।
पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।
दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।