राष्ट्रिय

अध्यादेश आज राष्ट्रपति कार्यालय पठाउने तयारी

- केएफएम डेस्ककाठमाडौं

निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश आउने भएको छ ।

मन्त्रिपरिषद् बैठकबाट आइतबार पारित भइसकेको अध्यादेश आज राष्ट्रपति कार्यालय पठाउने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेर राजपत्रमा प्रकाशन भएपछि अध्यादेश कार्यान्वयनमा आउनेछ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ४ लाई संशोधन गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गरेर गृह मन्त्रालयले अध्यादेशको मस्यौदा तयार गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ मा निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।

निर्वाचन घोषणापछि आन्दोलनबाट परिवर्तन ल्याएका युवा (जेन–जी) मताधिकारबाट वञ्चित हुने देखिएपछि अध्यादेश मार्फत उनीहरुको मताधिकार सुरक्षित गर्न लागिएको हो ।

गत भदौ ३० मा गृहमन्त्री बनेलगत्तै अर्यालले मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य भएका र छुटेकालाई सरकारले एक पटक मौका दिने बताउनुभएको थियो ।

विदेशमा रहेका नेपालीलाई पनि मतधिकारको व्यवस्थाका लागि आवश्यक कारवाही सुरु गर्ने गृहमन्त्री अर्यालको भनाइ छ । त्यसका लागि अध्ययन टोली गठन भएको छ ।