माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सक्ने तयारी
- काठमाडौंनेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आज सक्ने तयारी गरिएको छ । विभिन्न १० वटा प्रदेश समितिमा भइरहेको छलफलको निश्कर्षसहित आजै बैठक सक्ने तयारी गरिएको हो ।
कमलादीस्थित प्रज्ञा भवनमा हिजोदेखि सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको प्रस्तावमाथि समूहगत रूपमा छलफल भइरहेको छ ।
आजको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष दाहालको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले असहमति दर्ज गर्नु भएको छ । श्रेष्ठले निर्वाचनपछि मात्र महाधिवशेन गर्ने प्रस्ताव गर्नु भएको छ भने उपमहासचिव शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिएर स्थायी कमिटी सदस्यलाई जिम्मा दिनुुपर्ने प्रस्ताव राख्नु भएको छ ।
अध्यक्ष दाहालको प्रस्तावमा मंसिर अन्तिम सातातिर महाधिवेशन गर्ने र पार्टी केन्द्रीय समिति भंग गरेर महाधिवेशन मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाले महाधिवशेन आयोजक समितिको संयोजकमा भने आफैँ बस्ने प्रस्ताव गर्नुभएको छ । आजको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माको प्रस्तावमाथिको छलफल पश्चात पार्टीले धारणा तय गर्ने छ ।