औलो रोगका संक्रमित बढ्दै
- काठमाडौंनेपालमा औलोको जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको छ ।
औलो रोगलाई सन् २०२६सम्म उन्मुलन गर्ने सरकारी लक्ष्य छ । तर मुलुकका केही जिल्लामा अझै संक्रमण जोखिम रहेको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनले देखाएको छ ।
गत साता मात्र ५ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौं सहित कैलाली, बांके, सिन्धुली र रौतटहमा संक्रमण देखिएको छ ।
काठमाडौं र कैलालीमा २–२, अन्य जिल्लामा १–१ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, पछिल्लो समय आयातित मलेरिया सङ्क्रमणका घटनाहरू पनि देखिएका छन् । चाडपर्वको अवसरमा विदेशबाट आउनेहरुबाट समेत औलो सर्न सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।
आयातित औलो संक्रमणको अवस्था पछिल्लो २ वर्षमा बृद्धि भएको छ ।
सन् २०२३मा ५ सय ५ र सन् २०२५मा १ हजार ६ जनामा आयातित औलो संक्रमण भएको थियो ।
खुला सिमाना, वैश्विक यात्रा र जलवायु परिवर्तनका कारण लामखुट्टे उच्च भूभागतिर सर्नुले उन्मूलन लक्ष्यमा चुनौती थपिएको संक्रमणरोग विज्ञहरु बताउंछन् ।