राष्ट्रिय

प्रतिकूल मौसमका कारण आन्तरीक हवाई सेवा अवरुद्ध

- केएफएम डेस्क काठमाडौं

प्रतिकूल मौसमका कारण विभिन्न विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडान प्रभावित भएका छन् ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिक उडानका जहाजका लागि बन्द भएपछि देशभरका सबै विमानस्थलको उडान रोकिएका हुन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी उडान अवस्थाबारे जानकारी लिएपछि मात्र विमानस्थल पुग्न आग्रह गरेको छ । यसैबीच, सरकारले भोलि र पर्सि दुई दिन सार्वजनिक दिने निर्णय गरेको छ ।

 लगातार तीन दिनसम्म भारी वर्षा हुने भएपछि बिदा दिने निर्णय गरिएको गृहसचिव रामेश्वर दंगालले जानकारी दिनुभयो । विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै यो सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।