राष्ट्रिय

वर्षापछि हेटौडा–काठमाडौं जोड्ने तीन वटा सडक मार्ग अवरुद्ध

- केएफएम डेस्क काठमाडौं

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेटौडा–काठमाडौं जोड्ने तीन वटा सडक मार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । यस्तै, इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ ।

त्यस्तै, भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोका कारण सडक अवरुद्ध बनेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउने सबै सवारी साधनहरू हेटौंडामा नै रोकेको छ । यस्तै,जिल्ला प्रशासन कार्यालय उदयपुरले सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डमा सवारी आवागमनमा रोक लगाएको छ ।

सडकको अवस्था जीर्ण रहेको र वर्षाले कारण ठाउँ ठाउँमा सडक बिग्रिएकाले असोज १८ गतेदेखि २१ गते बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।