मेची राजमार्ग अझै अवरुद्ध
- काठमाडौंबाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै सञ्चालनमा आएको छैन ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको हो । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि अझै खुलाउन नसकिएको हाम्रा सहकर्मीले जनाएका छन् ।
सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयासलाई भने निरन्तरता दिइरहेको सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । पहिरो पन्छाउन तीनवटा एस्काभेटरको प्रयोग गरिएको छ । सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको छ । इलाम–नेपालटार खण्डको मिलगोलाईमा खसेको पहिरो भने हटाइएको छ । पहिरो पन्छाएसँगै पाँचथर र ताप्लुजेङबाट पहिरो खसेको स्थान राजदुवालीसम्म भने सवारी सञ्चालनमा आएको छ ।
झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । राजदुवालीमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् । सो खण्डको पहिरो आजसम्म पन्छाउने लक्ष्यसहित काम भइरहेपनि धाँजा फाटेर सडक भासिएपछि थप समस्या भएको छ ।
इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् ।
सो ठाउँदेखि पहिरो माथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल हिड्नु परेको छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म ल्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।