राष्ट्रिय

उत्पादन बढ्दा अलैँचीको मूल्य घट्यो

- केएफएम डेस्ककाठमाडौं

उत्पादन बढेसँगै अलैँचीको मूल्य घटेको छ । प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैँचीको उत्पादन बढाएका किसानहरु मूल्य घटेसँगै निराश भएका छन् ।

 गत वर्ष उत्पादन घट्दा मूल्य बढे पनि यस पटक भने मूल्य घटेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । महासंका अनुसार यस वर्ष अलैँचीको मूल्य घटेर प्रतिमन ८१ हजारदेखि ८५ हजार रुपियाँमा झरेको छ । गत वर्ष प्रतिमन अलैँचीको मूल्य एक लाख १० हजार रुपियाँसम्म पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग कम भई मूल्य घटेको महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो । विगतका तीन वर्ष लगातार घटेको मूल्य अघिल्लो वर्ष भने एक्कासी बढेको थियो । मूल्य बढेसँगै किसानले पनि अलैँची खेती विस्तार गरेकाले यो वर्ष उत्पादन बढेको हो । गत वर्ष ४ हजार मेट्रिक टन अलैँची उत्पादन भएकोमा यस वर्ष २५ प्रतिशतले बढेर ६ हजार ५ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । 

१८ हजार हेक्टर क्षेफलमा अलैँची खेती हुँदै आएकोमा यस वर्ष बढाएर २२ हजार हेक्टरमा विस्तार भएको छ । मसलाका रूपमा प्रयोग हुँदै आएको अलैँची उत्पादनको ९८ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।